गुफामा फसेका बालकको अभिभावकलाई चिठ्ठी : हाम्रो चिन्ता नलिनुस्, फ्राइड चिकेन पठाइदिनुस्

अनलाइन दर्पण 2018-07-07
img

काठमाडौं,२३ असार । थाइल्याण्डको एक गुफामा फसेका १२ बालकले अभिभावकलाई चिठ्ठी पठाएका छन् । उनीहरुले आफूहरुको चिन्ता नलिन पनि भनेका छन् । झण्डै दुई हप्तादेखि गुफामा फसेका बालकले आफ्ना अभिभावकलाई चिठ्ठी लेखेर भनेका छन्, ‘चिन्ता नलिनुस्‘ हामी सबै ठिकठाक छौँ ।’

चिकेन फ्राइड पठाइदिनुहोस्

उनीहरुले हातले लेखेर पठाएको खानाको व्यवस्था गरिदिन आग्रह गरेका छन् । उनीहरुले परिकारको आइटम नै तोकेर भनेका छन्, ‘फ्राइड चिकेन पठाइदिनुहोस् ।’ 

चिठ्ठीमा थप लेखिएको छ ,  ‘शिक्षक, हामीलाई धेरै होमवर्क  नदिनुहोला ।’ यस्तै बालकहरुसँगै गुफामा रहेका फुटबल प्रशिक्षकले छुट्टै चिठ्ठी लेखेर बालकका अभिभावकसँग माफी मागेका छन् ।

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहीँ फसेका हुन् । 

प्रशिक्षकले मागे माफी

२५ वर्षका फुटबल प्रशिक्षक एकापोल चान्टावोङ्गले बालकका अभिभावकलाई सम्बोधन गर्दै लेखेका छन्, ‘सबै बालकका प्यारा अभिभावक, अहिले सबै ठिक छन् । उद्धारकर्मीले हामीसँग राम्रो व्यवहार गरिरहेका छन् ।

सबै छात्रको मैले सकेसम्म राम्रो ख्याल गर्ने प्रतिबद्धता जनाउँछु । सहयोग गर्न आउने सबैलाई धन्यबाद । म सबै बालकका अभिभावकसँग माफी पनि माग्न चाहन्छु ।’

गुफामा फसेका र उनीहरुका परिवारका सदस्यबिच भएको यो पहिलो सञ्चार हो । यो हप्ताको सुरुमा उनीहरु फसेको ठाउँमा टेलिफोन लाइन लैजाने प्रयास गरिएको थियो । तर, सफल भएको थिएन ।

उद्धारमा यसकारण कठिनाई

यसैबिच गुफामा पानी पसेका कारण उद्धारमा कठिनाइ भइरहेको छ । फसेका बालकले पौडी खेल्न नजानेका कारण उद्धार गर्न नसकिएको सरकारी अधिकारीले बताएका छन् । गुफामा फसेका उनीहरुलाई गएको सोमबार बेपत्ता भएको नवौँ दिनमा खोजीकर्ताले भेट्टाएका थिए ।

उनीहरुलाई अहिले गुफामै खाना तथा औषधिको व्यवस्था त गरिएको छ, तर गुफामा बर्खाको पानी भरिएकाले उद्धार गर्न सकिएको छैन । उनीहरुलाई उद्धार गर्न गएका थाइ नौसेनाका एक उद्धारकर्मीको ज्यान गएको छ । गुफामा जम्मा भएको पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ तर फसेकाहरुलाई निकाल्न मिल्ने गरी पानी घटेको छैन । 

यसरी फसेका थिए गुफामा

१२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गएको जुन २३ मा प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए । चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण निस्कने बाटो बन्द हुँदा फसेका थिए ।

उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि उद्धारकर्मीले सम्भावित विकल्प बारे छलफल गरिरहेका छन् ।

सम्बन्धित समाचार

Advertisement