Uncategorized

के हो आँखादान ? यस्तो छ आँखा दान गर्ने प्रक्रिया

आँखा शरीरको सबैभन्दा संवेदनशील अंग मध्येको एक हो । यसलाई स्वस्थ राख्न सँधैभरी सचेत रहनुपर्छ । आँखालाई स्वस्थ राख्न सक्यो भने मृत्युपछि पनि आँखाले पुनः काम गर्न सक्छ । यसको लागि आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

दृष्टिसम्बन्धी समस्या नेपालको एउटा प्रमुख जनस्वास्थ्य समस्या नै हो । अहिलेको विज्ञान र प्रविधिको युगमा पनि हजारौँको सङ्ख्यामा दृष्टिविहीनताको अवस्थामा बाँच्नुपरेको यथार्थ छ । सन् १९७९–१९८० मा पहिलोपटक दृष्टिविहीनता सम्बन्धी सर्वेक्षण हुँदा ०.८४ प्रतिशतमा दृष्टिविहीनताको अवस्था रहेको पाइएको थियो । सन् २००६–२०१० मा भएको त्यस्तै सर्वेक्षणले दृष्टिविहीनताको प्रतिशत ०.३५ प्रतिशतमा झरेको देखाएको थियो । यस हिसाबमा झन्डै नौ लाख मानिसमा दृष्टिविहीनता छ । यो अवस्था भनेको दृष्टि कमजोर रहेको अवस्था पनि हो । प्रतिहजार एकजना भने दृष्टिविहीन नै रहेको अनुमान छ । 

मोतीविन्दु, दृष्टि न्यून हुनु, जलबिन्दु, डायबेटिक रेटिनोप्याथी  (मधुमेह रोगले दृष्टिपर्दामा पर्ने नराम्रो असर), खस्रे रोग, आँखामा लाग्ने चोटपटक आदि प्रमुख रहेका छन् । यीमध्ये धेरै उपचार हुनसक्ने अवस्थामा हुन्छन् तर पनि उपचारको अभाव वा जनचेतनाको कमीले धेरैले दृष्टिविहीन भएरै बाँच्नुपर्ने बाध्यता छ । 

अहिले आँखासम्बन्धी रोगको उपचार तुलनात्मक रूपमा सहज भएको छ । तीन दशकअघि नेपालमा वार्षिक एक हजारजति मात्रै शल्यक्रिया हुने गरेकामा अहिले वार्षिक अढाइ लाख जतिको शल्यक्रिया हुन्छ । 

विश्वमा प्रचलित सबै धर्मशास्त्रमा दानबारे उल्लेख छ । सनातन बौद्ध, इस्लाम, क्रिस्चियन, जैन आदि सबै धर्मवालम्बीहरू दैनिक, मासिक र वार्षिक रूपमा केही न केही दान गर्छन् । सनातन धर्मावलम्बीहरूको सबैभन्दा पुरानो लिखित ग्रन्थ वेदमा दानको महिमा वर्णन छ । वेद उपनिषद्, पुराण एवं महाकाव्यमा दानबारे विस्तृत रूपमा व्याख्या गरिएको छ । यो लोकमा उन्नति र परलोकमा सुख दिने चार प्रकारको दानको उल्लेख शास्त्रमा पाइन्छ । सौराष्ट्रका राजा धर्म बर्माले सुनेको आकाशवाणीमा ध्रुव, त्रिक, काम्य र नैमित्तिक दानको उल्लेख पाइन्छ ।

कुनै पनि धर्ममा आस्था नराख्ने नयाँ पुस्ताको जमात पनि ठूलै छ । त्यो जमात दानबारे लेख्ने वा बोल्नेभन्दा काम गरेर देखाउनेमा विश्वास गर्छ । आवश्यकताअनुसार विश्वको जुनसुकै कुनामा पुगेर समाज सेवा, परोपकारको कार्य गर्न पछि पर्दैनन् । यस्तै जमातले विभिन्न संघसंस्थामार्फत आँखाको नानी दान-बारे प्रचार-प्रसार गरिरहेका छन् । नेपालमा पनि आँखा दानको तथ्य र भ्रमबारे प्रचार गर्न युवा जमात लागेका छन् । न्युयोर्क सहरमा सन् १९४४ मा सर्वप्रथम आँखा बैंक खुल्यो । डा. टोनले प्याटोन र डा. जोन भ्याकलिनको सक्रियतामा आँखा बैक खुलेपछि युरोप र अन्यत्र पनि विस्तारै आँखा बैंक खुल्न थाले । अमेरिकामा नौ सयभन्दा बढी आँखा बैंकको आवश्यकता भएको तथ्यांक प्रकाशित छ । तर ८० वटा मात्रै आँखा बैंक सञ्चालनमा छन् ।

मोतीविन्दु वा अन्य कारणले आँखाको नानी बिगे्रमा पनि शल्यक्रियाद्वारा फेर्ने प्रविधिको विकास भइसकेको छ । आँखाको नानी चुच्चो हुँदै जाने केराटोकोनसजस्तो विशेष रोगमा पनि अरूद्वारा प्राप्त नानी प्रत्यारोपण गर्न सकिन्छ । चुच्चो नानी हुने रोग एसियामा बढी देखिने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ । विविध कारणले आँखाको नानीले काम नगर्ने अर्थात् नदेख्ने भएमा मृत व्यक्तिको स्वस्थ नानी प्रत्यारोपण गर्न सकिन्छ । आँखाको नानी विभिन्न कारणले काम नलाग्ने (खसण) हुन सक्छ ।

जस्तो- नानीमा फुलो परेमा, नानीमा चोटपटक लागेमा, विभिन्न रसायन परेर नानीमा दखल परेमा, ब्याक्टेरिया, भाइरस आदिको कारणले आँखा पाकेमा, फोक्सोमा लगेको क्षयरोग, संक्रमण भएर नानीमा पुगेमा, आँखामा भएको एलर्जीले नानीमा दखल गरेमा, बाथ रोगको संक्रमण नानीमा पुगेमा, जनैखटिरा निधारमा आएर नानीमा सरेमा, आँखाको शल्यक्रिया गर्दा नानीमा चोट परेमा, जन्मिदै नानी अस्वस्थ भएर धमिलो देख्ने भएमा, केराटोकोनस रोगद्वारा नानी चुच्चो हुँदै गएमा, वंशानुगत रोग कोरनेलड्रिस्टोदी भएमा, भिटामिन बी र अन्य मिनरलको कमी भएमा देख्न नसक्ने मानिसलाई यी विविध कारणले अस्वस्थ भए नानी फेर्न मृत व्यक्तिको आँखाबाट निकालिएको कोरनिय नानी नै चाह्न्छि ।

त्यसैले यो सुन्दर पृथ्वीका छटा अवलोकन गरेर दैनिक जीवन सहज बनाउन आफ्नो मृत्यु पछि आँखाको नानी प्रदान गर्न सकिन्छ । आफू मरेपछि जलेर, गलेर माटो खरानी हुने नानीलाई सदुपयोग गर्न सकिन्छ । अर्थ र समय दुवैको लगानीबिना नै परोपकारी कार्य गरेर पुण्य कमाउन सकिने सुवर्ण अवसर हो, ‘आँखा दान महादान ।’ सन् १९०३ मा चेकोस्लोभाकियाका जिमले एकजना बिरामीको पहिलोपटक काम नलाग्ने भएको कर्नियालाई सफलतापूर्वक फेरेका थिए ।

आँखाको नानी प्रत्यारोपणको इतिहासमा सन् १९०५ ले एक कदम फड्को मार्‍यो ।एडवार्ड कोनार्ड जिम (एमडी) ले १९०५ मा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरे । आँखा नदेख्ने धेरैजनाले आँखाको नानी पाएर नवजीवन प्राप्त गरे । सन् १९४० मा नानी प्रत्यारोपणको प्रविधिमा धेरै सुधार भयो । १९४४ मा आर टोन पटोनले लामो अनुसन्धानपछि विश्वको पहिलो आधुनिक आँखा बैंक न्युयोर्कमा स्थापना गरे ।

विश्वका विभिन्न देशमा आँखा बैंक खुल्ने क्रममा भारतको मद्रासमा सन् १९४५ मा आँखा बैंक खुल्यो । नेपालमा विसं २०४४ (सन् १९८७) मा त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा र पशुपति तिलगंगाको आँखा केन्द्रमा सन् १९९४ मा आँखा बैंक खुल्यो ।

विभिन्न संघसंस्थाको सक्रियतामा आँखाको नानी संकलन र प्रत्यारोपण गर्ने काम नेपालका धेरै गाउँमा भइरहेको छ । आँखा बैंकको अभाव भने हिमाली र विकट पहाडी क्षेत्रमा यथावत् नै छ । तुलनात्मक रूपमा आँखा दानबारे चेतना बढेर इच्छापत्र भरेर आँखा दान सम्मानपत्र सुरक्षित राखेर दानद्वारा दान गरिएको आँखा समयमै दान लिनेकहाँ पुर्‍याउन नसक्दा त्यसै खेर गइरहेको अवस्था हामीकहाँ छ ।

आँखाको नानी भनेको के हो ?

झट्ट हेर्दा आँखाको डल्लोभित्र देखिने कालो भाग,जुन शिसाजस्तो पारदर्शी हुन्छ त्यसलाई नै आँखाको नानी भनिन्छ ।

आँखाको नानी प्रत्यारोपण भनेको के हो ? यो कसरी गरिन्छ ?

मानिसको मृत्यु भएको ६ घण्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरि आँखाको  पुरै डल्लो नभई  झिल्ली झिकिन्छ । यसरी झिकिएको झिल्ली विशेष प्रयोगशालामा राखिन्छ र निश्चित समय वा २ हप्ताभित्र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गर्नुलाईनै आँखाको नानी प्रत्यारोपण भनिन्छ ।

आँखाको नानी प्रत्यारोपण किन गर्ने ?

१.आँखाको नानीमा फुलो परेर पुरै दृष्टि गुमेकाहरुलाई पुनः देख्न वा दृष्टि ल्याउनको लागि ।

२.आँखाको नानीमा  लामो संक्रमण हुने र कुनै औषधिले काम नगरे त्यो नानी फ्यालेर अर्को नानी प्रत्यारोपण गर्ने ।

३.चोटपटकले आँखाको आकारनै बिग्रिएको छ भने, आँखाको सेभ मिलाउनको साथै पुनः दृष्टि दिलाउन ।

४.आँखाको नानीमा फुलो पर्नुको साथै आँखाको भित्री भागमा पनि समस्या हुँदा सौन्दर्यमा ह्रास आएको अवस्थामा आँखाको नानी प्रत्यारोपण गरेर सौन्दर्य कायम गर्न सकिन्छ ।

यस्तो छ आँखा दान गर्ने प्रक्रिया

नेपालमा आँखा दान गर्नेको भन्दा आँखा प्रत्यारोपण गर्नेको संख्या बढ्दो छ । तसर्थ कहिलेकहीँ नेपाल आँखा बैंकमा आँखाको अभाव हुने गरेको छ ।

आँखा दान गर्नका लागि इच्छा भएकाहरूले सुरुमा शवदाह गृहमा आँखा दान इच्छापत्र भर्नुपर्छ । इच्छापत्र भरेकाहरूको मृत्यु भयो भने निजका परिवारजनले आँखा दानका बारेमा शवदाह गृहमा खबर गर्नुपर्ने हुन्छ । त्यसपछि तिलगंगामा लगेर मृतकको आँखा निकालिन्छ । आँखा दान गर्नका लागि पहिला आँखा स्वस्थ छ कि छैन भनेर परीक्षण गरिन्छ ।

क्यान्सर, एचआईभी, क्षयरोग र हेपाटाइटिस रोग लागेर मृत्यु भएका र आँखा खराब भएका मृतकहरूको आँखा प्रत्यारोपण गरिँदैन । कतिपय मानिसहरूले जीवित छँदै आँखा दानका लागि इच्छापत्र भर्छन् भने कतिपयमा चाहिँ मानिसको मृत्युपछि मृतकका परिवारलाई परामर्श गरेर आँखा दान गर्न लगाइन्छ । मृतकका परिवारलाई परामर्श दिने काम पशुपति शवदाह गृहकी परामर्शदाता रामप्यारी कार्कीले गर्छिन् ।

“आँखा दानको इच्छापत्र नभरेका मृतकको परिवारका सदस्यलाई हामीले परामर्श दिन्छौं र मृतकको आँखा दान गर्न राजी गराउँछौं ।” रामप्यारी कार्कीले भनिन्, “त्यसका लागि इच्छापत्रमा परिवारले राजी गरेको आशयसहित तीन जनाको हस्ताक्षर चाहिन्छ र मृतकको नजिकका नातेदारको मञ्जुरीनामा चाहिन्छ ।”

मृतकका परिवारलाई परामर्श दिएपछि दान दिनलायकका आँखाहरू भएका मृतकका परिवारको स्वीकृति लिइन्छ र विशेषज्ञको सहयोग लिएर आँखा निकालिन्छ । यस्ता विशेषज्ञहरू वीर अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पताल आदि अस्पतालबाट उपलब्ध हुन्छन् ।

आँखा निकाल्नका लागि मृतकको आँखा गर्मीमा ५ घण्टाभित्र र जाडोमा १२ देखि १३ घण्टाभित्र निकालिसक्नुपर्छ । मृतकको आँखालाई घामबाट जोगाउनु पर्छ र आँखा बन्द हुनुपर्छ । खुल्ला आँखा दान गर्नका निम्ति आँखा निकाल्ने अवधि छोटो हुनुपर्छ ।

थाहै छैन धेरैलाई

अधिकांश मानिसहरूले आँखा दानको महत्त्व र प्रक्रिया बुझेका छैनन् । धेरैको सोचाइ छ, आँखा दान भनेको मान्छे मरेपछि उसको आँखा निकालेर कुरूप बनाउनु हो । लाश नै सही, आफ्नो मान्छेको अनुहार कुरूप बनाउन परिवारजनहरू चाहँदैनन् ।

तर वास्तवमा अाँखा दान भनेको पूरै आँखा निकाल्ने कुरा नभएर आँखाको नानीमात्रै दान गर्ने कुरा हो । नानी निकाल्दैमा मृतकको अनुहार कुरूप हुँदैन ।

आँखा दान विद्यादानजत्तिकै पुण्यकर्म हो, किनभने विद्यादान गरेर हृदयको अँध्यारो भगाइन्छ भने आँखा दान गरेर बाहिरी संसारको अँध्यारो भगाइन्छ । आँखा दान गर्नका लागि २ वर्षदेखि ७० वर्षसम्म उमेर समूहका मानिसहरू योग्य रहन्छन् ।

विभिन्न संघसंस्थाको सक्रियतामा आँखाको नानी संकलन र प्रत्यारोपण गर्ने काम नेपालका धेरै गाउँमा भइरहेको छ । आँखा बैंकको अभाव भने हिमाली र विकट पहाडी क्षेत्रमा यथावत् नै छ । तुलनात्मक रूपमा आँखा दानबारे चेतना बढेर इच्छापत्र भरेर आँखा दान सम्मानपत्र सुरक्षित राखेर दानद्वारा दान गरिएको आँखा समयमै दान लिनेकहाँ पुर्‍याउन नसक्दा त्यसै खेर गइरहेको अवस्था हामीकहाँ छ ।

आँखा कमजोर भएका मानिसहरू जसले पढ्दा र टाढा हेर्दा चस्मा प्रयोग गर्छन्, तिनले पनि आँखा दान गर्न सक्छन् । नवजात शिशुदेखि सय वर्ष पार गरेका पाका व्यक्तिहरूको नानी पनि ढुक्कसँग प्रत्यारोपण गर्न सकिन्छ । १०३ वर्षसम्मका दाताको नानी प्रत्यारोपण गरिएको इतिहास छ । आँखाको नानी वृद्धवृद्धाको तुलनामा तन्नेरीद्वारा प्राप्त भएका बढी स्वस्थ हुने तथ्य यसमा संलग्न डाक्टरहरू बताउँछन् ।

आँखा र कानको विशेष अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने कामको लागि भने रोगी कर्निया पनि उपयोगी हुन्छ । कर्निया प्रत्यारोपणको लागि भने स्वस्थ कर्निया नै चाहिन्छ । निम्नलिखित रोग लागेका मानिसहरूका आँखा प्रत्यारोपण गर्न सकिँदैन- पोलेर मृत्यु भएमा, विषालु किरा, सर्पले टोकेर मृत्यु भएमा, जलविन्दु भएमा, एचआईभी/एड्सद्वारा मृत्यु भएमा, हेपाटाइटिस बी र सी भएमा, क्यान्सर भएमा, रगतबाट सर्ने रोग भएमा, धनुष्टंकारद्वारा मृत्यु भएमा, इन्सेफ्लाइटिस भएमा, जन्मजात कन्जिन्टेल रुबेल्ला भएमा, लिम्फो सार्कोमा भएमा ।

यसबाहेक कमजोर आँखा मोतीविन्दु भएकाले पनि आँखा दान गर्न सक्छन् । विशेष रोग लागेका व्यक्तिले दान गरेको आँखा अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिँदैन, तर अध्ययन-अनुसन्धानमा उपयोग गर्न सकिन्छ ।

दाताका आफन्तले अपनाउनुपर्ने सावधानीहरू :

चिसो पानीले भिजाएर निचोरेको मलमलको कपडाले आँखा/मुख छोप्ने, आँखाको नानी दान गर्ने मृत व्यक्तिको टाउको तकियामा राख्ने, घामपानी र हावा सोझै आँखामा नपार्ने, लावा, अक्षता, फूल, चन्दन, अबीर, केशरी आँखामा नपार्ने, दाताको आँखा बन्द गरेर राख्ने, आँखाको कर्निया झिक्न फोन नम्बर ९८५१० २०९३३ मा फोन गरेर आफूहरूले कुरेर बसेको ठाउँको प्रष्टसँग ठेगाना बताउने, अस्पताल, क्लिनिक, घर वा घाटमा मृतक व्यक्तिसँगै कुरेर बस्दा त्यहाँ जम्मा भएका मानिसलाई मृतकका आँखाका नानीले दृष्टिविहीन दुईजनाले संसार देख्ने पुण्यको कामबारे बताउने, डाक्टरले मृत घोषणा गरेपछि आँखाको नानी झिक्न सम्बन्धित संस्था, अस्पताल वा फोन भएका व्यक्तिसँग सम्पर्क गर्ने ।

यसरी सावधानी अपनाएर कुनै पनि धर्ममा आस्था भएका कुनै पनि लिंग र उमेरका व्यक्तिले आँखाको नानी दान गर्न सक्छन् । मरेपछि दिन सक्ने आँखा दान महादान हो । एकजना मरेको व्यक्तिले दिएको दानले दुईजनाले आँखा देख्न सक्छन् । हामी सबै सचेत भएर आँखा दानबारे प्रचार-प्रसार गरौं । सार्वजनिक स्थलमा आँखादानबारे पोस्टर टाँस्ने र पम्पप्लेट बाँड्ने गरौं । सचेत नागरिकको कर्तव्यपालन गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *