समाचार

१८ वर्षीया किशोरीलाई बाेक्सीकाे अाराेपमा आमा र सानिमा मिलेर तातो पन्यूँले डामे

काठमाडौं । ‘म आन्टीको घरमा बस्थेँ । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राती आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्न थाल्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो । मैले हारगुहार गरेँ । आमाले पनि केही भन्नु भएन । मलाई कसैले बचाएनन् ।’

आजको अन्नपूर्ण पोष्ट  दैनिकमा खबर छ – यो कुनै कथाको पात्रको भनाई होइन। सुर्खेत वीरेन्द्रनगर २ की १८ वर्षीया अमृता वुढाको पीडा हो । बोक्सी आरोपमा आफन्तबाटै उनीमाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ ।

शरीरभरी तातो पन्यूँले डामिएको छ । अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन । एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ ।

पीडित किशोरीकै आमा समेत घरभित्रको कुरा भन्दै घटनालाई सामान्यीकरण गर्न लागिरहेकी छन् । तर किशोरीले भने न्याय मागेकी छन् । घाइते अमृताले आफूमाथि अत्याचार भएको बताइन् ।

प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *