समाचार

स्रोत र साधनको अभावले भक्तपुरको विकास रोकिदैन : सांसद बस्नेत

काठमाडौँ, २६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आर्थिक तथा विभिन्न स्रोत साधनको अभावले भक्तपुको विकास नरोकिने बताउनुभएको छ ।

आज भक्तपुर तथा काभ्रेपलाञ्चोक जिल्लाको सिमानामा रहेको साँगामा अरनिको राजमार्गको पहिलो चरणको सफाई अभियानको समापन तथा दोस्रो चरणको शुरुवातको क्रममा भएको कार्यक्रममा बोल्दै सांसद बस्नेतले देशमा संघियता कार्यान्वयनसँगै विकासको गतिले लिएको तिव्रतालाई कुनै पनि शक्तिले छेक्न नसक्ने दावि गर्नुभएको छ ।

 

उहाँले आफुलाई जनताले अत्याधिक जनमतका साथ विजयी गराई पद तथा जिम्मेवारी प्रदान गर्दै थप चुनौतिहरु थपिदिएको बताउँदै जनताको जनतम अनुसार आफ्नो कार्यकालमा भक्तपुरको मुहार फेरेर छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा उहाँले राज्यको शुन्य लागतमा सर्भिस ट्रयाकको काम शुरु भएको बताउँदै एक महिना भित्रमा पार्किङ तथा फुटपातको व्यवस्थापन गरी सक्ने बताउनुभयो । सांसद बस्नेतले सूर्यविनायक नगरपालिका तथा मध्यपुर थिमी नगरपालिकालाई एक हप्ता भित्रमा पार्कीङ तथा फुटफाटको लागि आवश्यक ठाउँको व्यवस्थापन गरी सक्न समेत निर्देशन दिनुभएको छ । उहाँले उपयुक्त विकल्प सहितको व्यवस्थापन गरीने जानकारी गराउँदै व्यवस्थापन पछि पनि कसैले सफाईलाई तथा पार्कीङका सवालमा कमजोरी गरेमा कडा कारवाही गर्ने तथा अनुगमनलाई प्रभावकारी मात्र नभई व्यवहारिक रुपमा लागु गर्ने बताउनुभयो ।

 

दोस्रो चरणको राजमार्ग सफाईको बारेमा विस्तृत कार्ययोजना बताउँदै सांसद बस्नेतले अभियानलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी अभियानको नेतृत्व सम्बन्धीत नगरपालिकाले गर्ने जानकारी गराउनुभयो । सम्बन्धीत वडाका वडाध्यक्षको नेतृत्वमा अन्य संघसंस्थासँगैका सहकार्यमा अभियानलाई व्यापक तथा प्रभावकारी ढंगले अघि बढाउनु पर्ने बताउनुभयो ।

उहाँले राजमार्ग तथा समग्र भक्तपुरलाई स्वच्छ, सफा, हराभरा, लागुऔषध मुक्त तथा जाममुक्त बनाउनु अहिलेको मुख्य कार्य भएको बताउनुभयो । आगामी दिनमा अभियानलाई प्रभावकारी तथा अनुगमनलाई व्यवस्थित गर्न प्रत्येक नगरपालिकाले १२÷१२ जनाका दरले मजदुर तथा सफाईका गाडीहरु परिचालन गर्नुपर्ने र त्यसको लागि ५० प्रतिशत व्यापारी तथा ५० प्रतिशत आर्थिक व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने बताउनुभयो ।

 

त्यस्तै राजमार्ग तथा सहायक मार्गहरुलाई सफा, सुन्दर र हरियाली बनाउन सूर्यविनायक नगरपालिकाले तत्कालै ब्रुमरको खरिद गरी सफाई अभियानमा प्रयोग गर्ने जानकारी गराउँदै सूर्यविनायक तथा मध्यपुर दुवै नगरपालिका मिली दमकल खरिद गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै विकासमा आवश्यकता अनुसारको कार्यमा संयोजन, विकास तथा अनुगमन गर्दै जनताको विकासको चाहना पुरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, काभ्रे जिल्ला समन्वय समितिका प्रमुख उद्धब केसी, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले सरसफाईलाई सामाजिक रुपमान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *