समाचार

नेमकिपा भक्तपुरको विकास बिरोधी : सांसद बस्नेत

भक्तपुर, ७ मंसिर । रमेश गिरी । प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास बिरोधी भएको बताउनु भएको छ ।

आज भक्तपुरमा एभरेष्ट मिसन डट कमको दोश्रो वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले त्रिभुवन विश्वविद्यालयदेखि रंगशाला समेत आउन नदिएर भक्तपुरको विकासमा अबरोध पुर्याउदै आएको आरोप लगाउनु भएको हो ।

सांसद बस्नेतले भन्नुभयो– “त्रिभुवन विश्व विद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाण्डौं विश्व विद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरि बिरोध भयो, ३ नं. प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध गर्यो, अहिले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न लाग्दा पनि नेमकिपाले बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।”

उहाँले भक्तपुरको विकासलाई अब कसैले रोक्न नसक्ने बताउदै विकास विरोधी तत्वलाई परास्त गर्दै अगाडि बढेर भक्तपुरको विकासलाई अग्रस्थानमा ल्याउने दाबी गर्नुभयो ।

आफ्ना बारेमा अनेकौ गलत प्रचार गरेपनि कुनै फरक नपर्ने र हामी विकासका लागि निरन्तर लागिरहने बताउँदै बस्नेतले भन्नुभयो– “आफ्नो गन्तव्य निश्चित गरेर हात्ती लमक लमक लम्किरहन्छ, वरिपरि कुकुरहरु घुक्छन्, हात्तीले कुकुरलाई फर्केर हेर्दैन, हात्ती गन्तव्य नपुगेसम्म लम्किरहन्छ ।”

उहाँले ठूला राष्ट्रिय मिडियाले आफ्नो समाचार नराख्ने गरेको बताउँदै त्यसले कुनै फरक पर्दैन भन्दै उहाँले राष्ट्रिय मिडियाले लेखेको समाचार भन्दा फेसबुक प्रभावकारी माध्यम भएको जिकिर गर्नुभयो ।

संचार माध्यम र पत्रकारले समाज परिवर्तन हुनेगरि मिसन पत्रकारिता सुरु गरेर परिवर्तनको संवाहक बन्नुपर्नेमा उहाँले जोड दिदै एभरेष्ट मिसनले त्यसको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य मैना भण्डारीले देशको विकासलाई अगाडि बढाउने गरि विकास पत्रकारिता गर्नुपर्नेमा जोड दिदै संचार माध्यम निष्पक्ष भएर जान नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले नाम अनुसारको काम र सोही अुनसारको तिव्र गतिका साथ उक्त संस्था अघि बढेको बताउनुभयो । उहाँले कतिपय मिडियाले राष्ट्रियताको पक्षमा भन्दा पनि राजनैतिक दल प्रति केन्द्रीत हुँदै नकरात्मक कार्यलाई प्राथमिकता दिई अनावश्यक हल्ला फैलाउने गरेको गुनासो समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले संचार माध्यम निष्पक्ष भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले राष्ट्र, राष्ट्रियताको पक्षमा रहि कलम चलाई सत्य तथ्य कुरालाई जनतामाझ पुर्याउन संस्थाले खेलेको भुमिका अतुलनिय रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. तीन का सांसद मिना ज्ञावली, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष किरण पौडेल, पत्रकार बबिता बस्नेत, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, हनुमन्ते सफाई अभियानका अभियन्ता रुद्र पौडेल, पत्रकार ईन्द्रबहादुर रिजाल, मानव कल्याण सेवा घरकी संचालिका सुुमित्रा चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उहाँहरुले एभरेष्ट मिसन डटकमकी अध्यक्ष एवं कार्यक्रमकी सभापति लिला तामाङ्ग, सम्पादक वीरेन चौलागाईले आफ्नो अनलाईनले देशको परिवर्तनमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।

सांसद एवं पूर्वमन्त्री बस्नेतले प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष एवं आमसंचार डटकमका सम्पादक एवं सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष उपेन्द्र केसी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी र एभरेष्ट मिसन डटकमकी व्यबस्थापन एवं राससकी फोटो पत्रकार चन्द्रकला क्षेत्रीलाई एभरेष्ट मिसन डटकमलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *