समाचार

प्रेम सम्बन्धले गुम्यो मन्त्री पद

काठमाडौं — सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ ।

नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए ।

त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो ।

यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो ।

तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

यसमा नेकपाभित्रको गृटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् ।

उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो ।

यसरी गयो मन्त्री पद

प्रदेशसभा निर्वाचनमा कैलाली–४ ‘क’ बाट सोडारी १६ हजार १ सय ११ मत ल्याएर निर्वाचित भएका हुन्। उनी मंगलबार मन्त्रीबाट बर्खास्तीमा परे। र, नेकपाकै अर्का सांसद कृष्ण सुवेदी सामाजिक विकास मन्त्री नियुक्त भइसकेका छन्।

तर, सोडारीको बर्खास्तीको विषयमा धेरैलाई जानकारी नभएको स्रोतको भनाइ छ। ‘सोडारीजीका अलि विवादित काण्डहरु छन्, अहिले चाहिँ सबैले थाहा पाउने गरी एउटा काण्ड सार्वजनिक भयो,’ नेकपाका एक स्थानीय नेता भन्छन्, ‘गलत आचरण र अश्लिल संवादको अडियो लिक भएपछि उहाँ कारबाहीमा पर्नु भएका हो।’

ती नेताका अनुसार धनगढी मिलनचोककी एक महिलासँग सोडारी केही समयदेखि निकट थिए। उनीहरुको निकटता सोडारीका लागि चाहिँ लाभदायक रहेन। तिनै महिलाले सोडारीले बोलेको अश्लील अडियो केन्द्रीय मन्त्रीदेखि प्रधानमन्त्री कार्यालयसम्म नै पठाइदिइन्।

ती नेताका अनुसार अडियोसँगै केही तस्बिर पनि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेपछि विवादित छविका सोडारीलाई बर्खास्त गरिएको हो।

सोडारीको अर्को काण्ड

मन्त्री पद खोसिएका सोडारी यसअघि पनि यस्तै एक काण्डमा मुछिएका थिए। नेकपाका एक जिल्ला नेताका अनुसार काठमाडौँमा एक महिलासँग प्रेममा परेपछि उनकी श्रीमती एवं अखिल नेपाल महिला संघकी जिल्ला नेतृ गीता सोडारी नै काठमाडौँ गएर मुद्दा मिलाएपछि उनको अनैतिक प्रेम सम्बन्ध टुंगिएको थियो।

एक छोरी र एक छोराका पिता सोडारीलाई चिन्नेहरु उनको आनीबानीले कायल पारेको दाबी गर्छन्। ‘काठमाडौँको महिला काण्डपछि सोडारी केही समय ठिकै थिए, अहिले फेरि उनको व्यवहार बिग्रियो,’ ती नेताले भने।

पटक–पटक विवादमा

नेकपाका नेता भीम रावलका विश्वासपात्र दीर्घबहादुर सोडारी जिल्लामा विवादित नेताका रुपमा परिचित छन्। बेलाबेलामा पत्रकार तथा नागरिक समाजसँग सरोकार राख्ने विषयमा उनी विवादमा तानिन्छन्।

‘चुनावका बेला पनि कार्यकर्ता तथा अर्को क्षेत्रका उम्मेदवारलाई सहयोग नगरेको आरोप लागेको थियो,’ ती नेताले भने, ‘अहिले आएर सबै छताछुल्ल भयो।’

त्यसैगरी, मन्त्री बनेपछि एक किलोमिटरकै दूरीमा रहेको घरबाट सोडारी मन्त्रीको क्वार्टरमा सरे। त्यस विषयमा उनी निकै आलोचित भएपनि त्यसलाई बेवास्ता गरे।

स्रोतका अनुसार जिल्ला नेताका रुपमा चिनिएपछि नै उनी प्रहरीका काम कारबाही पनि प्रभावित गर्दै आएका छन्। ‘आफ्ना नेता–कार्यकर्ताहरु कुनै किसिमको प्रहरी कारबाहीमा परे ‘माथि’सम्म आफ्नो पहुँच रहेको भन्दै मुद्दा नै प्रभावित गर्न उनी पछि पर्दैनथिए,’ ती नेताले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *