जीवनशैली सूचना / प्रविधि

शान्तिको हलो क्रान्ति !, जसले हलो जोतेर सबैलाई चकित पारिन् !

नेपाल महिला संघकी जिल्ला अध्यक्ष शान्ति बोहरा पुजाराले आफ्नै खेतबारीमा हलो जोतेकी छन् ।सुर्मा गाउँपालिका वडा नम्बर-१, लकुण्डमा रहेको माइती गएको समयमा गाउँका सबैले आलु लगाउनका लागी बाँझो खेत जोतिसकेको र आफ्नो माइतीको मात्रै बाँकी रहेको, घरमा हलो जोत्न सक्ने कोही पनि नभएका कारण आफूले हलो जोतेको पुजाराले बताइन् ।

पुजाराका दुई भाईहरु छन् । एक जना शिक्षक र एक जना नेपाल आर्मीमा छन् । खेतबारीमा काम गर्न अरुको सहयाता लिनु पर्ने बाध्यता उनको माइतीघरमा छ ।

‘म माइत गएको समयमा हलो जोत्ने काम मैले गर्छु’ पुजाराले बताइन् । २०४४ सालमा बुबा नरपति बोहराको निधनपछि घरको कामको जिम्मा मेरो काँधमा आएको थियो । मैले २०४५-४६ साल तिर हलो जोत्न सुरु गरेकी थिएँ,’ पुजाराले भनिन् ।

भाईहरु ठूला भएपछि पुजाराले हलो जोत्ने काम छोडिन् । उनले विवाहपछि पनि हलो जोत्ने काम गर्नु परेन । कहिलेकाहीँ भाइहरु थाकेको समयमा उनीहरुलाई आराम दिन केहीबेर पुजाराले हलो जोत्ने गर्थिन् । त्यसदिन पनि घरमा भएका बुहारीहरु पनि हलो जोत्ने मान्छे नभएकाले आलु रोप्नका लागि बाँझो छोडेको जमीन बाउसोले खन्दै थिए । पछि उनले गएर हलो जोतिन् ।

पुजाराले भनिन्, ‘हाम्रो समाजमा महिलाले हलो जोत्दा अनिकाल लाग्ने, घरमा नराम्रो हुने भन्ने अन्धविश्वास अझै पनि छ । तर मेरो परिवारका कसैले त्यस्तो मान्दैनन् । मलाई हलो जोत्न दिन्छन् । बुबाले पनि मलाई सानैमा केटा मान्छेले गर्ने काम बढी सिकाउनुहुन्थ्यो । हलो बनाउन, फाली, गाड्न सबै काम मलाई आउँछ ।’

गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिलाहरु धेरै पीडामा रहेको पुजाराको भनाई छ । महिलाहरुले हलो जोत्दा अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि कायमै रहेको समाजमा कोहीले प्रशंसा गरेका छन् भने बुढापाकाले भने गाली गर्ने गरेको पुजाराले बताइन् ।

सबैका पुरुष सधै घरमा हुँदैनन’ उनले भनिन् ‘पुरुष घरमा नभएका महिलाहरुले आफन्तलाई हार गुहार गरेर हलो जोति माग्नु पर्ने बाध्यता अहिले पनी बझाङका धेरै महिलाहरुको छ ।  हलो जोतिदिएकै भरमा पुरुष घरमा नभएका महिलाहरुले विभिन्न खालका यौनजन्य हिंसा  र थिचोमिचो सहनु परेको छ  । अब मैले मात्र होईन यहाँका सबै महिलाहरुले हलो जोत्न सक्नु पर्छ ।’ पुजाराले भनिन्।

सुरुका वर्षमा महिलाले हलो जोत्दा खडेरी पर्छ, अनिकाल पर्छ भनेर हल्ला फैलाए पनि त्यस्तो केही नभएपछि सबै चुपचाप बसेको उनले बताइन् । महिला हिंसाको एउटा कारण यो पनि भएको उनको भनाई छ । यसको अन्त्यका लागि अहिलेका जनप्रतिनिधि महिलाहरुले पनी हलो जोत्न जरुरी रहेको उनले बताइन्।

बोहरा नेपाल महिला संघकी जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङकी सदस्य हुन् । पुजारा एकल महिला पनि हुन् ।

बझाङका एकल महिलाहरुले अरुको भरमा नै खेतीपाती गर्नुपर्ने बाध्यता रहेको बताउने पुजाराले अब एकल महिलाहरुले पनि हलो जोत्न तम्सिनु पर्ने र यसबाट कुनै क्षति भए त्यसको जिम्मेवारी आफूले लिन तयार रहेको बताइन् । उज्यालो अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *