राजनीति

विकट ईलाकामा विप्लवको अभियान , एउटै टोली पुग्यो ८३ वटा गाउमा

विप्लव नेतृत्वको नेकपाले संचालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान मुलुकभर चलेर समापनको तयारीमा रहेको छ । मुलुक भरमा २४ बटा केन्द्रिय टोली बनाएर संचालन गरेको अभियानमा लुम्बिनी ब्युरोले उत्कृष्ट र  सानदार ढङ्गले सम्पन्न भएको जानकारी स्रोतले बताएको छ।

ब्युरो मध्यका एक केन्द्रीय टोलीका कमान्डर पूर्णबहादुर सिंहले नेतृत्व गरेको टिमले नमुना काम तथा बजबुत संगठन बनाएको नेकपाको आन्तरिक समिक्षा गरेको बताइएको छ ।

उक्त्त टोलीले पार्टीका ४४ वटा सेल कमिटी निर्माण गरेको छ । अभियानले चार सय ३६ जनालाई सङ्गठित सदस्यता प्रदान गरेको छ । त्यत्ति नै सङ्ख्यामा सदस्यताका लागि आवेदन परेका छन् ।

उक्त अभियान टिमले १९ सदस्य रहेको योङ रेड फोर्स युवा सङ्गठन तीनवटा, ३४ सदस्य रहेको महिला सङ्गठन सातवटा र ३५ सदस्य रहेको विद्यार्थी सङ्गठन तीनवटा निर्माण गरी ६० विद्यार्थी संगठित गरेको छ । डेढ महिनाको अवधिमा ५६ वटा जनभेला गरिएको र ८ सय ४३ परिवारबाट जनसहभागिता गराइएको जानकारी उक्त टिमका कमान्डर सिंहले दिएका छन् ।

दुईवटा जनसभामा तीन सय ७५ जनाको सहभागिता रहेको बताइएको छ । टिमले ११ वटा विद्यालयमा १०४ जना शिक्षकशिक्षिकासँग बहस छलफल गरेको छ भने तीन सय ४७ वटा घरमा घरदैलो र ८३ वटा गाउँटोलमा जनतासँग छलफल गरेको छ । अभियानका क्रममा ८३ वटा भित्तेलेखन गरेको जानकारी टोली कमान्डर सिंहले दिएका छन् ।


अभियान टोली जनताको घरदैलोमा पुगेर पार्टीको विचार, कार्यदिशा, नीति र कार्यक्रम जनतामा सम्प्रेषण गर्न सफल भएको, आम जनतालाई पार्टी र क्रान्तिप्रति आकर्षित, सङ्गठित र परिचालित गर्न सफल भएको, दलाल पुँजीवादी सत्ता र त्यसका मालिकहरूको भण्डाफोर गर्दै एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादलाई स्थापित गर्न सफल भएको निष्कर्ष टोलीले निकालेको छ । अभियान टिमले त्यसैगरी पानी र माछाझैँ जनसम्बन्ध हासिल गर्दै जनदिशाको नयाँ प्रयोग गर्न सफल भएको, आशङ्का, अविश्वास र अकर्मण्यतालाई नयाँ आशा र विश्वाससहित एकीकृत जनक्रान्तिको उद्देश्य नयाँ ढङ्गले स्थापित गर्न सफल भएको र अभियानको मूल उद्देश्य हासिल भएको निष्कर्ष निकालेको छ ।

भदौ १ गते नेकपा स्थायी समिति सदस्य सन्तोष बुढाले लुम्बिनीको अभियान उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *