राजनीति

पार्टी एकतालाई कमजोर पार्ने कसरत : प्रचण्ड

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभरि नै अहिले कम्युनिष्ट आन्दोलन रक्षात्मक भइरहेको अवस्थामा नेपालमा भने दुई ठूला कम्युनिष्टहरु एक भई दुई तिहाइको सरकार बन्नु ऐतिहासिक परिघटना भएको बताएका छन् ।

नेकपा चितवनले आइतबार भरतपुरमा आयोजना गरेको चाडपर्व शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्टहरु बलियो भएको देखेर देशभित्र र बाहिरका तत्वहरु आफूहरुलाई कमजोर पार्न कसरत गरिरहेको बताए ।

गत वर्ष तत्कालीन एमाले र एमाओवादी केन्द्र एक भई चुनावी साझा घोषणापत्र बनाउनेबित्तिकै एकता प्रक्रिया बिथोल्न केही देशी–विदेशी तत्वहरु सक्रिय भए पनि पार्टी नेतृत्वमा रहेकाहरु इमान्दार रहेकाले अडिग रहेको उनले उल्लेख गरे ।

कुनै पनि वस्तुको विकास र विनाश अरुको कारण नभई आफ्नै कारणले हुने भन्दै अध्यक्ष प्रचण्डले एक भएको कम्युनिष्ट पार्टी अरुका कारण नभई आन्तरिक कारणले कमजोर हुन सक्नेमा नेतृृत्व सचेत रहेको बताए । साथै, उनले कार्यकर्तालाई आत्मकेन्द्रित नहुन, संकीर्ण नबन्नसमेत सुझाव दिए ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओली र आफ्नो भ्रमणले भारत र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै प्रचण्डले अब देशमा राजनीतिक स्थायित्व भई विकासका कामहरु धमाधम अघि बढ्ने बताए ।

सडक र रेलले देशको हरेक भूगोललाई छुने र केही वर्षमा त्यसको अनुभूति गर्न सकिनेसमेत प्रचण्डले बताए ।

पार्टी अध्यक्ष प्रचण्डले स्थानीय तहसम्म र पार्टीका जनवर्गीय संगठनहरुको एकता छिट्टै सम्पन्न हुने बताएका छन् । सरकारको काम र केही मौलिक हक अधिकारसँग सम्बन्धित ऐनहरु जारी गर्नुपर्ने भएकाले ढिला भएको उल्लेख गर्दै प्रचण्डले प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकता छिट्टै हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकता गर्दा विविध विषयमा ध्यान दिनुपर्ने हुँदा केही ढिला भएकोे बताए । ‘हतारमा काम गर्दा केही त्रुटि, कमजोरी हुन सक्छन्, त्यसैले होसियारीपूर्वक काम भएकाले एकता ढिला हुन गएको हो’, महासचिव पौडेलले भने ।

कार्यक्रममा बोल्दै नेकपा नेता पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भौतिक पूर्वाधारको विकासमा मात्र जोड नदिई उत्पादनमा पनि उत्तिकै जोड दिन आवश्यक रहेको बताए ।

पार्टीका आमन्त्रित स्थायी कमिटी सदस्य अमिक शेरचनले भाषणभन्दा पनि काम गर्ने समय आएकाले मन्त्री, जनप्रतिनिधि काममा केन्द्रित हुनुपर्ने बताए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले प्रदेशले ऐन कानुनको अभावमा सोचेजस्तो काम गर्न नसकेको स्वीकार गरे । तर, उनले जनतासामु गरिएको प्रतिबद्धताअनुसार भित्रभित्रै काम भएको र त्यसको परिणाम केही वर्षपछि देखिने हुँदा धैर्य गर्नसमेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *