शिक्षा

घरमा शौचालय नहुँदा पवित्राले पढ्न पाइनन् ।

सर्लाही ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन् । महिना पुगेपछि स्कुलले भर्ना गर्न ‘जन्मदर्ता लिएर आऊ’ भन्यो । भोलिपल्ट बिहानै उनका बुवा सत्यसिंह ब्लोन–तामाङ जन्मदर्ताका लागि भक्तिपुर गाविस भवन पुगे । सचिवले कडा स्वरमा भने, ‘घरमा ट्वाइटेल छ ? ’ सत्यसिंहले मुन्टो हल्लाउँदै भने, ‘अहँ ।’ ‘ट्वाइलेट नबनाएसम्म जन्मदर्ता बन्दैन ।’ पवित्राका बुवा खिन्न मन लिएर फर्किए । त्यसपछि बन्द भयो, पवित्राका लागि एक किलोमिटर परको स्कुलको ढोका ।

गाविस सचिवको त्यही वाक्य सुनेर फर्किएको ४ वर्ष बित्यो । पवित्राका बुवाले न ट्वाइलेट बनाउन सके, न छोरीलाई स्कुल पठाउन । जन्मदर्ता, ट्वाइलेट, स्कुल, गरिबी यी चार शब्दको वरिपरि रिँगिरह्यो पवित्राको स्कुल जाने सपना । उनको बालस्मृतिबाट स्कुल गएका दिन बिस्तारै मेटिँदै छन् ।

तस्विर: अन्नपुर्ण

पूर्वपश्चिम राजमार्गको सागरनाथ चोकबाट करिब ४ किलोमिटर जंगलको बाटो हिँडेपछि पवित्राको गाउँ मियाँखोर पुगिन्छ । गाउँको मुखैमा छ वरपीपलको रूख । त्यसैको छायामा छ एउटा दोकान । त्यही दोकान र वरपीपलको छहारीले बताउँछ, गाउँको कथा ।

दशमीको टीका सकिएको दुई दिन बितिसक्यो । तर यो गाउँमा पुग्दा दसंैको मध्यदिन चलिरहेझैं लाग्छ । बूढो वरपीपलको छहारीमा पलेँटी कसेर बसेका छन् गाउँले । कोही खैनी मोलिरहेका, कोही चुरोटको धूवाँ उडाइरहेका, कोही तास खेलिरहेका । कच्ची सडकमा उडिरहेको धूलो । चरनमा निस्किएको बाख्राको बथान । मोटरसाइकलको घुइँघुइँ ।

चौताराको पूर्वपट्टि एउटा देहाती दोकान छ । दोकानमा राखिएका छन्, जम्बो कोकका रंगीचंगी बोतल । चौतारामा तीनवटा तासको खाल छ । खेल्नेभन्दा हेर्नेको बाक्लो भीड । दोकानदारलाई भ्याइनभ्याइ छ ।

बालकहरू साइकलको टाङमुनि खुट्टा छिराएर किरिङकिरिङ पार्दै धूले सडकमा साइकल बेपत्ता कुदाउँछन् । बाख्राको बथान र मोटरको धूलोले चौतारा छोपिन्छ एकछिन । धूलोले छाडेपछि फेरि देखिन्छ, उस्तै कोलाहल ।

तास खेलिरहेका खेलाडी हौसिएर बुरुक्क उफ्रिन्छन्, बेलाबेलामा । कोही खेल्दाखेल्दै जुरुक्क उठ्छन् अनि दोकानको ठीक पछाडि गएर पिसाब फेर्छन् । हो, ठीक त्यही दोकानको पछाडि छ, पवित्राको जन्मघर । टायलले छाएको, माटोले टालेको, तला नभएको १० धुर ऐलानी जमिनमा बनेको भुइँघर ।

घरमा छिन् पवित्राकी सुस्त मनस्थितिकी आमा । उनको नाम दाङ्मो योञ्जन हो । उमेर कति पुग्यो उनलाई थाहा छैन । किनकि उनको नागरिकता छैन । कान कम सुन्ने बुवा छन्, ४५ वर्षीय । ३ कक्षा मात्रै पढेर छाडेका १५ वर्षीया दाइ गलैंचा बुन्न काठमाडौं गइसके ।

सत्यसिंहले ट्वाइलेट बनाउन १५ देखि २० हजार जति लाग्ने हिसाब निकाले । चारचौरास भौंतारिए पनि ट्वाइलेट बनाउन सकेनन् । हातमुख जोर्न धौधौ हुने अवस्थामा १५ हजारमा ट्वाइलेट बनाउनु निकै महँगो ठाने । त्यसपछि इँटाभट्टामा काम गरी पैसाको जोहो गर्न काठमाडांै हिँडे ।

पवित्रा स्कुल जान नपाएपछि घरमा त्यत्तिकै बसिरहिन् । आमाले स्कुल जाऊ भनिनन् । पवित्रा पनि स्कुल फेरि फर्केर गइनन् । ‘जन्मदर्ता नलिई कसरी जानु ? ,’ उनी सुस्तरी भन्छिन् । स्कुल नगएरै पवित्राको महिना बित्यो, वर्ष बित्यो । अब त स्कुल जानुपर्छ भन्ने पनि उनलाई लाग्न छाड्यो । बिस्तारै स्कुलको चौरमा साथीसँग खेलेका क्षणहरू धमिलो हुँदै गयो । बेलाबेलामा गाउँका साथीहरू स्कुल गइरहेको देख्दा उनी झस्किन्छिन् ।

इँटाभट्टाबाट सत्यसिंह फर्किए । तर त्यस वर्ष पैसा कमाइ भएन । ट्वाइलेट बनाउने अनि जन्मदर्ता बनाएर छोरीलाई स्कुल पठाउने योजना अधुरै रह्यो ।

पवित्रा जब १० वर्षकी भइन्, स्कुल होइन बुवासँगै इँटाभट्टामा काम गर्न काठमाडौं गइन् । एउटा चिसो हिँउद भक्तपुरको इँटाभट्टामा बिताइन् । बुवालाई सघाइन् । काँचो इँटा बोकिन् । फर्माको सहाराले इँटा बनाइन् । भन्छिन्, ‘इँटा बनाउन मलाई पनि आउँछ ।’

भट्टामा एक याम जाडो सहेपछि बाउछोरी गाउँ फर्किए । उनलाई आशा थियो, अब घरमा ट्वाइलेट बन्ने छ अनि जन्मदर्ता बन्नेछ । त्यसपछि कापी कलम च्यापेर स्कुल जान पाइनेछ । तर उनको आशा अधुरै रह्यो ।

गाउँ पुग्दा आमा बिरामी थिइन् । आमाको स्तनमा देखापरेको सानो डल्लोले ठूलो रूप लियो । गाउँलेले क्यान्सर हुन सक्ने आशंका गरे । कमाएको पैसाले नपुगेपछि गाउँलेले सहयोग गरे । केही पैसा जोहो गरेर गाउँको स्वास्थ्य चौकी, सहरको अस्पताल हुँदै भरतपुर क्यान्सर अस्तालसम्म श्रीमतीलाई देखाए । महिनौं बित्यो । रिपोर्ट आयो । धन्न क्यान्सर होइन रहेछ । सत्यसिंह भन्छन्, ‘ढुक्क त भएँ । तर औषधि खाइन्जेल ठीक हुने, खान छाड्नेबित्तिकै घाउ ठूलो हुँदै जाने भइरहेको छ ।’

डाक्टरले घाउ ठूलो हुँदै गए अपरेसन गर्नुपर्छ, नत्र क्यान्सर हुन सक्छ भनेका छन् उनलाई । भन्छन्, ‘अपरेसन गर्दा झन् समस्या होला । खै के गर्ने, के नगर्ने ।’ उनलाई छोरी पढाउन नसक्नुभन्दा अब श्रीमतीको रोगले पिरोलेको छ । ट्वाइलेट बनाउने अनि छोरीलाई स्कुल पठाउने सपना बिस्तारै झनै मधुरो हुँदै गएको छ ।

गत वर्ष सत्यसिंहलाई अर्को पनि समस्या थपियो । गाउँको छेउमा एक कठ्ठा जमिनमा झुपडी बनाएर बसिरहेका थिए । घरबारविहीन मुसहर परिवार गाउँमा आइपुग्यो । गाउँलेले मिलेर छेउमा झुपडी बनाउन एक वर्षका लागि मात्रै दिन सत्यसिंहलाई आग्रह गरे । उनले नकार्न सकेनन् । जहाँ पैसा जोहो गरेर ट्वाइलेट र पानीको कल राख्न चाहन्थे उनी, त्यही बन्यो मुसहरको झुपडी ।

पवित्राका लागि अब स्कुलको ढोका झनै दूरदूर हुँदै गयो ।

स्कुल नजाने यहाँ उनी मात्रै एक्ली होइनन् । जन्मदर्ता भए पनि स्कुल नजाने बालकालिका गाउँमा धेरै भएको सत्यसिंह बताउँछन् । गलंैचा बुन्न काठमाडौं जानु, रक्सी पार्नु, त्यो रक्सी बोकेर बारा, पर्सासम्म पु¥याउनु, इँटाभट्टामा काम गर्न जानु मियाँखोर गाउँको बाध्यता र जीविकोपार्जनको माध्यम बनेको छ । मियाँखोर गाउँमा मात्रै करिब ८० घर तामाङ जातिको बसोवास रहेको वडा सदस्य लीलबहादुर ब्लोन बताउँछन् । मियाँखोर गाउँका कैयन् घरमा दसैंतिहारपछि ताला लाग्छ । कैयन स्कुले बालबालिका अविभावकसँगै नाइट बस चढी काठमाडौं पस्छन् अनि इँटाभट्टाको चिसोमा दिन बिताउँछन् । पवित्राको टोलभन्दा तल्लो टोल छ, मगरहरूको । त्यहाँका मानिस स्कुले छोराछोरी नै बोकेर कामको खोजीमा दिल्ली जाने गरेको श्री प्राथमिक विद्यालयकी शिक्षिका शिवकुमारी गुरुङ बताउँछिन् ।

स्कुलबाट पवित्रा झन्झन् टाढा हुँदै गएको एउटा वर्ष गाउँमा गलैंचा बुन्न जाने हल्ला चल्यो । पवित्रालाई पनि जाऊँजाऊँ लाग्यो । त्यसपछि उनी गाउँलेसँगै मिसिएर काठमाडौं आइन् । गलैंचा बुनिन् । ६ महिना सिकेपछि गलैंचा बुन्न पारंगत भइन् । भन्छिन्, ‘सादा गलैंचा बुन्न आउँछ ।’

शिक्षिका शिवकुमारी जन्मदर्ता नभएकै कारण भर्ना नलिने नियम स्कुलले हटाएको बताउँछिन् । उनी अविभावकप्रति गुनासो गर्छिन् । भन्छिन्, ‘अविभावक जागरुक नभएसम्म बालबालिका स्कुल आउँदैनन् ।’ वडा सदस्य लीलबहादुर ट्वाइलेट नभएकै कारण जन्मदर्ता नदिने नियम अहिले हटाइएको प्रस्ट पार्छन् । तर ती दुवै कुरा ब्लोन परिवारले कसरी थाहा पाऊन् ?

नगरपालिकाले प्रस्तुत गरेको २०७५÷७६ को नीति तथा कार्यक्रममा यसै वर्षबाट नगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने उल्लेख छ । नगरका १५ वटै वडामा साक्षरता अभियान सञ्चालन गरी विद्यार्थीलाई पोसाक, कापीकलम वितरण गर्ने पनि योजना छ । तर यी सबै नीति पवित्राको झुपडीसम्म पुगेको छैन ।

नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था छ । जहाँ ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’ भनिएको छ । त्यस्तै धारा ३९ मा भनिएको छ, ‘प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुनेछ ।’ तर सबै अधिकार र मौलिक हकबाट पवित्रा टाढा छिन् ।

गत वर्ष शिक्षा मन्त्रालयले गरेको सर्वेक्षणमा सर्लाहीसहित प्रदेश–२ का आठ जिल्लामा १ लाख ९१ हजार २२१ बालबालिका विद्यालयभन्दा बाहिरै रहेको देखाएको छ । त्यसमा बालिकाको संख्या धेरै छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सुरु गरे । तर उनकै प्रदेशमा लाखौं बालबालिका शिक्षाबाट वञ्चित छन् । पवित्रा त्यसको एउटा उदाहरण मात्रै हुन् ।

सर्लाहीका जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेल स्कुलबाहिरका बालबालिकालाई २०८५ सम्म स्कुलभित्र पु¥याइसक्ने र त्यसभन्दा पछाडि मात्रै स्कुल नआए अविभावकलाई राज्यको सुविधाबाट वञ्चित गर्ने योजना रहेको बताउँछन् । भन्छन्, ‘ट्वाइलेट छैन भने नगरपालिकाले बनाइदिनुपर्छ । तर विद्यार्थीलाई स्कुल जानबाट रोक्नुहुन्न । कुन स्कुलले रोकेको हो नाम दिनुस्, तुरुन्तै भर्ना गरिन्छ ।’

नगर प्रमुख मनोजकुमार देवकोटा नगरलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न लागिएको बताउँछन् । उनी ट्वाइलेट नभएकै कारण जन्मदर्ता बनाउन नपाइने व्यवस्था तोडिएको प्रस्ट्याउँछन् । भन्छन्, ‘अहिले त्यो बाध्यकारी छैन । दलित तथा विपन्न परिवार भनी वडाले सिफारिस गरेपछि ट्वाइलेट बन्छ ।’ २ नम्बर वडाध्यक्ष सुरेन्द्र कार्की नगरलाई खुला दिसामुक्त क्षेत्र बनाउन कडाइ गरिएको बताउँछन् । तर योजना सफल नभएपछि बाध्यकारी व्यवस्था हटाइएको सुनाउँछन् । भन्छन्, ‘पवित्रालाई तुरुन्तै स्कुल भर्ना गर्ने वातावरण बनाइन्छ ।’

यता पवित्राका बुवा अरु वर्ष जस्तै यस वर्ष पनि तिहारपछि इँटाभट्टामा जाने योजनामा छन् । घरमा त्यत्तिकै राख्नुभन्दा छोरीलाई पनि लिएर जाने सोचमा छन् । भन्छन्, ‘ट्वाइलेट पनि बनाउन सकिएन । खै छोरीलाई कसरी पढाउनु अब ।’ पवित्रा मसिनो स्वरमा भन्छिन्, ‘स्कुल जान त मन लाग्छ नि ।’-अन्नपुर्णपाेष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *