दर्पण विशेष शिक्षा समाचार

के हो दशैं, किन मनाउने दशैं ?

काठमाडौं – संस्कृत शब्द दशमीबाट प्राकृत हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो “दशैँ” । नेपाली हिन्दु सम्प्रदायमा दशैं सबै भन्दा ठुलो र महत्वपुर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ /आश्वीन शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म १५ दिन  धुमधामले मनाइने यो दशैं कहिलेदेखि शुरु भयो यसको कुनै ईतिहास भेटिएको छैन । हाम्रा पिता पुर्खाहरु अर्धबन्य अवस्थाबाट बिकशित हुँदै कृषि युगमा प्रवेश गरे पछी दशैं मान्ने परम्परा शुरु भएको हुनु पर्दछ र पछी गएर धार्मिक आवरण ओढाइएको हुनसक्छ भन्ने विद्वानहरुको मत छ । प्राचिन कालदेखि हिन्दु समाजमा दशैं पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ ।

दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो नेपालीहरुको प्रमुख पर्व हो । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ । दशैं वर्षमा तीन अत्यन्त शुभ तिथिहरुमा एउटा हो अरु दुइवटा हुन् चैत्र (चैत) को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनहरुमा हिन्दूहरु नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन् ।

विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवैमा रुपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव-पर्व सुरु भएको हो ।

प्राचीन कालमा राजाहरु यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रार्थना गर्दथे । यस दिन ठाउँ-ठाउँमा मेलाहरु लाग्थे । अहिले पनि भारतमा रामलीलाको आयोजना हुन्छ । रावणको विशाल पुतला बनाएर जलाइन्छ ।

पौराणिक महत्व: देवी पुराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरुका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरु माथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरु डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाह अनुसार बिष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरुको छलफल पछी आफ्नो आफ्नो शक्तिपुंज निकाले । ती शक्ति पुञ्जहरु एकत्रित भइ शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गरे । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछी शन्ड   मुन्ड र रक्तबिज सहित महिषासुरको बध गरे र दशौँ दिनमा  विजय उत्सब मनाइयो । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।

अद्भुत रामायण र श्रीमद् देवी भागवत अनुसार अर्को कथा प्रसंग जोडिएको छ दशैंसंग । रामले रावणको बध गरेर अयोध्या फर्के पछी ठुलो जन सभा भयो । त्यो सभामा  रामको जयजयकार र वीरताको बखान चली रहंदा सीताले मुख लेप्र्याएर व्यंग्य मुश्कान छोडेको दृश्य  बिश्वामित्र ले याद गरेका रहेछन् । जनसभा समाप्त भए पश्चात बिश्वामित्रले सीतासंग सोधे । धेरैबेरको अनुरोध पछी सीताले भनिन् त्यो जाबो दश टाउके रावणलाई बध गर्दा त रामको बिरताको यत्रो बखान हुञ्छ भने  सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरुले के गर्दा हौ ! त्यसकारणले हाँसेकी हुँ । सीताको यो अभिव्यक्तिले रामसभामा ठुलो तरङ्ग पैदा गर्यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने त्यसो भए म अहिरावण र महिरावणको बध नगरिछोड्दिन । रामले प्रतीज्ञा गरे । युद्धको तयारी भयो ।

घमासानको युद्धमा राम समेत उनका भाइहरु मुर्छित भए ,कोलाहल मच्चियो । त्यही मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरि सहश्र टाउके रावणको बध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन बिजयोत्सब मनाए ।

श्रीमद देवी भागवत र तुलसी कृत रामायण  अनुसार लङ्केश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भए पछी शक्ति स्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लङ्का विजय भयो । त्यसैको खुशियालीमा चैत्र महिनामा दशैं मनाउंदै आइरहेकोमा  गर्मि मौसमको कारणले त्यही दशैं असोजमा सारेको भन्ने उक्तिहरु पनि भेटिन्छन् ।

सामाजिक महत्व: दशैं पर्वको सामाजिक महत्व पनि त्यति नै शिखरमा देखिन्छ । काम विशेषले जहाँसुकै पुगेका भएपनि सारा नेपालीहरू आफूभन्दा सानालाई आशीर्वाद दिन र ठूलाबाट आशीर्वाद लिन सकेसम्म घर जानेआउने प्रयास गर्दछन् । यस अर्थमा भन्नुपर्दा यस पर्वलाई जहाँसुकै रहेबसेका भए पनि सारा नेपालीलाई वर्षको एकपटक आफन्तसँग भेटघाट गराउन सहयोग पु¥याउने महत्वपूर्ण कडीको रूपमा त यसै पनि लिन सकिन्छ ।
सानालाई शुभाशिष दिने र ठूलाबाट लिने परम्पराले यदि कोही कसैमा वर्षदिनभरिको अवधिमा टोल, छिमेक, एवं आफन्तहरू र परिवारजनबीच कुनै रिस, राग वा द्वेष पलाउन गएको रहेछ भने त्यसलाई मेटाएर प्रेम र सद्भाव वृद्घि गर्ने पर्वको रूपमा समेत लिन सकिन्छ । आज विविध कारणवश (कारण जे पनि हुन सक्छ । अहिलेको परिवेशमा त्यतातिर नजान नै वेश होला) आपसमा के कति द्वेष, कलह र भाइभाइबीच पाएसम्म एकले अर्कोलाई सिध्याउने प्रवृत्ति हावी हुँदै आएको छ भनिरहन पर्दैन । यस्तो परिप्रेक्ष्यमा दशैं पर्वको महत्व हिजो जति थियो, आज त्योभन्दा पनि बढी रहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।

दशैं मान्ने हाम्रो आफ्नै किसिमको मौलिक र आर्ष परम्परा छ । यसैको कारण विदेशिएको छोरो घर आउँछ । वर्षदिन अघिदेखि परदेश गएको श्रीमानको घर फर्किने बाटो हेरेर बसेकी श्रीमतीले न्यानो भेट पाउँछिन् । पितृघर छोडी पतिघरलाई नै आफ्नो घर मानी बसेकी त्यागकी प्रतिमूर्ति तथा माया र ममताकी खानी चेलीले माइतीको दर्शन पाउँछिन् ।
दशैंले घर, परिवार, टोल, छिमेक र आफन्तजनहरूबीच द्वेष र कलहको तुष फाली प्रेम र सद्भाव जगाउँछ । सम्भवतः संसारमा यति बढी विविध पक्षको धनी पर्व खोजिपसे अन्त कतै पनि पाउन सकिन्न । यसबाहेक यसबाट धेरथोर आन्तरिक र बाह्य पर्यटनमा सहयोग पुगिरहेको तथ्यलाई पनि बिर्सन मिल्दैन । दशैंको साँस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषिप्रधान देश हुन् । जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्नरुपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन । यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । दक्षिण एसियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भुटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।

आध्यात्मिक महत्व: दशैं पर्वको आध्यात्मिक पक्षको उठान गर्दा वा यसलाई केलाउँदा मौसम विज्ञान, शरीर विज्ञान र व्यवहार विज्ञान आदि क्षेत्रलाई सँगै जोडेर हेर्नुपर्ने हुन्छ । जस्तो, यतिबेलाको समय भनेको ऋतुपरिवर्तनको समय हो । बडा दशैं पर्व शरद ऋतुमा पर्दछ । शरद ऋतुको समय भनेको प्रकृतिको त्यस्तो सन्धि समय हो जसले गर्मी (तातो) समय र शीत (चिसो) समयलाई जोड्ने पुलको काम गरिरहेको हुन्छ । यतिबेलादेखि नै प्रकृतिमा बिस्तारै गर्मी सकिएर जाडो आउन शुरू गरेको हुन्छ ।

यस्तो अवस्थामा जसरी मौसममा परिवर्तन आइरहेको हुन्छ, त्यसैगरी शरीरले पनि त्यसलाई पचाउन सोही अनुसार तयारी अवस्थामा रहनुपर्ने हुन्छ । अन्यथा मौसममा आएको परिवर्तनलाई शरीरले पचाउन नसकी रोग लाग्ने सम्भावना रहन्छ । त्यसैले यस पर्वले यतिबेला अपनाउनुपर्ने खानपान र व्रतोपवासको माध्यमबाट शरीरलाई सोही अनुसार परिवर्तनको अवस्थामा ल्याउन खोजेको देखिन्छ ।

विशेषतः यतिबेला नौ दिनसम्म शक्ति उपासना गर्न राखिएको प्रावधानले पनि यही तथ्य उजागर गर्दछ । अर्थात् यतिबेला शक्ति उपासना गर्नुपर्ने प्रावधान राखिनुको आशय सोही मौसममा आएको परिवर्तनलाई पचाउन आवश्यक शक्तिको खोज गर्न लगाउनु नै रहेको बुझिन्छ र यतिबेला जुन किसिमको आहारविहार र खानपानको नियम तोकिएको छ, यसलाई मनन गर्दा पनि यही नै तथ्य उजागर हुन आउँछ ।

बैज्ञानिक महत्व: मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । बिजया दशमीको दिन देखी कोजागत पुर्णीमा को दिनसम्म टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ। जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ यसर्थ स्वास्थ्यको लागि अति उत्तम मानिन्छ ।

दशैं:

यो चाड मनाउनु को आफ्नै विशेषता, धार्मिक तथा सामाजिक महत्व र मनाउने तरिकामा पनि विविधता रहेको देखिन्छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । यसै दिन भगवान श्री रामले रावण माथि विजय प्राप्त गरेको हुनाले असत्य माथि सत्यको विजयको रुपमा यो पर्व मनाइने गरिन्छ । प्राचिनकालमा राजाहरु यस दिन विजयको प्रार्थना गरेर रण यात्राको लागि प्रस्थान गर्दथे । अहिले पनि भारतमा राम लिलाको आयोजना हुन्छ । रावणको पुत्ला बनाएर जलाउने गरिन्छ । यसै गरि यो पर्वलाई दुर्गा भवानीको पुजाको रुपमा पनि मनाउने चलन छ । विशेष गरि दक्षिण एसियाको भारत, नेपाल, भुटान र म्यानमार तथा हिन्दुहरु को वास स्थान रहेका ठाउहरुमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ । देश, समाज तथा चाल चलनै पिच्छे यो पर्व मनाउने गरेको पाइन्छ । हिन्दु अधिराज्य भारतको विभिन्न प्रदेशहरुमा फरक फरक तरिकाले यो पर्व मनाइन्छ । विजया दशमीको उत्पति तथा मनाउने चलन भारतबाटै भएको हो भन्ने पनि विश्वास रहेको छ ।

भारतमा दशै : पश्चिम बंगालमा यो पर्व दुर्गा पूजाको रुपमा नै मनाइन्छ ।  बंगालमा यो पर्व पाँच दिनसम्म  । यहाँ देवी  दुर्गालाई भव्य सुशोभित पण्डालाहरुमा सजाइन्छ । देशका नामी कलाकारहरु बोलाएर दुर्गाको मूर्ति तयार गरिन्छ । यहाँ षष्ठीको दिन दुर्गा देवीको बोधन, आमन्त्रण एवं प्राण प्रतिष्ठा आदिको आयोजना गरिन्छ । त्यसपछि सप्तमी, अष्टमी एवं नवमीका दिन प्रात र सायंकाल दुर्गाको पूजामा व्यतीत हुन्छन् । दशमीको दिन विशेष पूजाको आयोजना गरि प्रसाद   र प्रसाद वितरण गरिन्छ ।

तमिलनाडु, आंध्र प्रदेश एवं कर्नाटकमा दशहरा नौ दनसम्म चल्छ जसमा तीन देवीहरु लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । पहिला तीन दिन लक्ष्मी(धन र सम्बृद्धिको देवीको पूजन हुन्छ । दोश्रो दिन सरस्वती( कला र विद्याकी देवीकोअर्चना गरिन्छ र अन्तिम दिन देवी दुर्गा( शक्तिकी देवीको स्तुति गरिन्छ । कर्नाटकमा मैसुरको दशहरा विशेष उल्लेखनीय छ । मैसुर दशहराको समय पूरै शहजरका गल्लीहरु   रोशनीले सजाइन्छ र हात्तीहरुलाई सिंगारेर शहरभरि एक भव्य जुलुससित घुमाइन्छ । यस समय पछि प्रसिद्ध मैसुर महललाई दीपमालिकाहरुले सजाइन्छ । हिमांचल प्रदेशमा कुल्लू का दशहरा भनेर प्रसिद्ध छ । अन्य स्थानहरुकै जस्तो यहाँ पनि दश दिन अथवा एक सप्ताह पूर्व यस पर्वको तैयारी आरंभ हुन्छ । स्त्री पुरुष सबै सुन्दर वस्त्रहरुमा सजिएर तुरही, विगुल, ढोल, नगाडा, बाँसुरी आदि आदि जोसित जे बाजा छ, लिएर बाहिर निस्कन्छन् । पहाडका मानिसहरु आफ्नो ग्रामिण देवताको धूम धामसित जुलूस निकालेर पूजा गर्दछन् । साथै उनीहरु आफ्नो मुख्य देवता रघुनाथजीको पनि पूजा गर्दछन् । पंजाबमा दशहरा नवरात्रिका नौ दिनको उपवास राखेर मनाइन्छ । त्यसबेला यहाँ अतिथिहरुको स्वागत पारंपरिक मिठाई र उपहारले गरिन्छ । यहाँ पनि रावण दहनको आयोजना गरि मैदानमा मेला लाग्छ । महाराष्ट्रमा नवरात्रीुका नौ दिनमा दर्गालाई समर्पित गरिन्छ , जब कि दशौं दिन ज्ञानकी देवी सरस्वतीको वंदना गरिन्छ । यस दिन विद्यालय जाने बालबालिका आफ्नो पढाईको निम्ति आशीर्वालल माँग्न माता सरस्वतीका तांत्रिक चिन्हहरुको पूजा गर्छन् ।

नेपालीको दशैं:दशैं नेपालीहरु र विशेषत नेपाली हिन्दुहरुको सबैभन्दा ठुलो पर्व हो । नेपाली हिन्दु पात्रो अनुसार आश्विनल शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजा पाठ, व्रत र  उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजया दशमीका नामले पनि चिनिन्छ ।

यस पर्वको पहिलो दिन लाई घटस्थापना भनिन्छ जुन आश्विनशुक्ल पक्ष प्रतिपदाको दिन हो । यसै दिन देखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन झिसमिसे बिहानीमै आत्मशुद्धी पश्चात नदी, खोला, बगर वा आफुलाई पायक पर्ने ठाउँबाट चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैं घर वा पुजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलि आएको अन्न छरिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुका घरघरमा र देवीका मन्दिरहरुमा भगवती दुर्गाको पूर्जा, अराधना र प्रार्थना गरिन्छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।

नवरात्रिको सातौं दिनलाई फुलपाती भनिन्छ, यस सम्तमी तीथिको दिन दशैंको लागि पूजा सामग्री स्वरुप फूलपाती आगनमा प्रवेश गराउने कार्य हुन्छ । फूलपाती स्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पुजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।

नवरात्रीको आठौं दिन महाअष्टमीमा महाकाली भद्रकाली को विशेष पूजा आजा गरिन्छ । पूजा पश्चात बोका, कुखुरा, हाँस, रागो आदि बलि दिइन्छ ।

नवरात्रीको नवौ दिन महानवमीमा विशेष गरी महालक्ष्मी देवीको पूजा आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरु तथा सवारी साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ ।

यसैगरी दशौं दिनलाई विजयादशमी भनिन्छ । यस दिनमा भगवान श्री रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देव देवीहरुको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनि त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिम वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजीता देवी, अन्य देवदेवीहरुलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ । अनि घरका बुढा पाका तथा मुख्य मान्छेले भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलको रातो टीका निधारमा र जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद दिन्छन् । अनि सपरिवर नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको टिका थाप्न जाने गर्छन्, यो क्रम पूर्णिमासम्म जारी रहन्छ ।

प्रमुख पूजा र उत्सव

सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरुको महत्व अधिक रहेको पाइन्छ ।

महासप्तमी: सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामाग्री स्वरुप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रम्हाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ ।

यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।

महाष्टमी: नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली) को विशेष पूजा-आजा गरिन्छ । देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्न ज्यादै शक्तिशाली भद्रकाली करोडौं योनी (शक्ति) का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरुमा मानिसहरु आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । शाकहरुले नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल अर्पण गर्दन् ।

काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्बसाधारणको लागि खुल्ला रहन्छ । यसै दिन दशैंघर (हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विर्सजन गर्छन् ।

 महानवमी: नवरात्रिको नवौं दिन विशेष गरी महालक्ष्मी देवीको पूजा-आजा गरिन्छ । यसै दिन बिहान कलपूजा, हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरु पूजाको अतिरिक्त विशेष गरी दुइ वर्षदेखि दस वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ ।

 विजया दशमी: नवरात्रिको दशौं दिनलाई विजयादशमी पनि भनिन्छ् । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ्र । सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दर्ुगा, अन्य देवदेवीहरुलाई चधाई आरती र पुष्पाञ्जलि गरिन्छ ।

यसपछि देवीका मूर्तिहरु र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रुपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीरवाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन् ।

टीका लाउँदा दिने आशिषः

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्धने ।

दानं सुर्युते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

भाबर्थ: द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनबाट आशीर्बाद लिइन्छ ।

बडा दशैको प्रसाद जमराको वैज्ञानिक महत्व

बडादशैंको पहिलो दिन दशैघरमा घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ । त्यसपछि नवरात्रभरि शक्तिको प्रतीक देवी दुर्गा भवानीको नौ विभिन्न स्वरुपको पूजा गरिन्छ । यसरी मातृशक्तिको आह्वान, आराधना गर्दै दशैं घरमा उमारिएको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरी प्रसादस्वरुप टीकासहित लगाउने परम्परा छ ।

संस्कृतमा यव भनिने जौ पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।

गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ । श्रीमदभागवत महापुराणमा पनि वामन अवताररुपी भगवान विष्णुको पूजा गर्दा लोकपालहरुले जमरा चढाएको प्रसंगबाट के बुझन सकिन्छ भने हिन्दु संस्कृतिमा जमराको महत्व परापूवकालदेखि नै थियो ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम छैन । आयुर्वेदिक ग्रन्थहरुमा जौ र अंकुरित जौबाट गर्नसकिने उपचारहरुको व्यापक उल्लेख भएको पाइन्छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरुले पनि पुष्टि गरिसकेका छन् । चिकित्सकहरुका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पर्ूण्ाआहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा पौष्टिक तत्व तुलनात्मकरुपमा बढी पाइन्छ । भारतीय चिकित्सकहरुले समेत जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् । प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई विजयादशमीको प्रसादका रुपमा प्रयोग ल्याइएको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *